नेपाल बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। यहाँका आदिवासी जनजातिहरूमध्ये राई, लिम्बु, याख्खा र सुनुवार प्रमुख जातिहरू हुन्, जसलाई अव्याबहारिक रूपमा सामूहिक रूपमा “किरात” भनेर चिनाउने जमर्को गर्दै आएको छ। प्राचीन हिन्दू ग्रन्थहरूमा किरातहरूलाई हिमालय क्षेत्रका साहसी, शिकारजीवी र शिवभक्त जनजातिका रूपमा वर्णन गरिएको छ (Bhattarai, 2012)। यिनै किराती साझा नाम ले चिनाउन कोशीस गरिएको समुदायले आजको समयमा भने आफुलाई “किरात” भन्न रुचाउँदैनन्, वा त्यो पहिचानप्रति सतर्कता देखाउन थालेका छन्। यस निबन्धमा त्यसको प्रमुख कारणहरूलाई विश्लेषण गरिएको छ।
मुख्य अंश
१. ‘किरात’ शब्दको ऐतिहासिक अस्पष्टता
“किरात” शब्द प्राचीन ग्रन्थहरू (जस्तै: महाभारत, स्कन्दपुराण) मा उल्लेख भए तापनि, आजको सन्दर्भमा यसको प्रयोग नेपालमा राइ लिम्बु याख्खा सुनुवार लाई सामूहिक/umbrella label को रूपमा चिनाउने प्रयास गरिँदै आएको छ (Subba, 1999)। तर राई, लिम्बु, याख्खा, सुनुवार सबैका आ–आफ्नै भाषा, धर्म र संस्कार छन्।
उदाहरणका लागि, राई समुदायमा बान्तावा, थुलुङ, कयु, डुङ्माली आदि थर छन्, जसको बोली, रीतिथिति र चाडपर्व फरक छन् (Gaenszle, 2002)।
२. जातीय पहिचानप्रतिको बढ्दो चेतना
आजका आदिवासी समुदायहरूले आफ्नो मौलिक भाषा, संस्कार र सामाजिक संरचनालाई जोगाउन विशेष ध्यान दिएका छन्।
लिम्बुहरू आफुलाई “याक्थुङ” भनेर चिनाउँछन् (Chemjong, 1967)।
राईहरू खम्बु भनेर चिनिन्छन्, र उनीहरू भित्रै पनि कुल/थर अनुसार पहिचान स्पष्ट पार्न चाहन्छन् (Schlemmer, 2004)।
याख्खा र सुनुवारले पनि आफनो ऐतिहासिक अस्तित्व र विशेषतामा गर्व गर्न थालेका छन्।
३. धार्मिक र सांस्कृतिक विविधता
“किरात धर्म” नाम दिए तापनि यसको अभ्यास र स्वरूप हरेक समुदायमा अलग–अलग देखिन्छ।
राई समुदायमा साकेला, न्वागी, भुमी पूजा आदिको चलन छ।
लिम्बुहरूको धर्म मुन्धुम, र उनीहरूको पुरानो धर्म ग्रन्थ “Samjik Mundhum” ले बताउँछ कि उनीहरूका देवता, संस्कार र जीवनदर्शन अलग छन् (Chemjong, 1967)।
याख्खा र सुनुवारका पनि आ–आफ्ना धार्मिक मान्यताहरू छन्, जसले किरात धर्मको एकरूपता सिद्ध गर्दैन।
४. बाह्य लेबलको अस्वीकृति
“किरात” भन्ने नाम आफैंमा प्राचीन भारतीय शास्त्रहरूबाट आएको हो। कतिपय विद्वानहरूको मतमा, यो बाह्य लेबल हो जुन आर्य सभ्यताले हिमालय क्षेत्रका जनजातिहरूलाई दिएको हो (Subba, 1999)। अहिलेका आदिवासी समुदायहरू आफ्नो स्वदेशी पहिचान (indigenous identity) को खोजीमा छन्, र बाह्य लेबलहरू अस्वीकार गरिरहेका छन्।
५. सामाजिक–राजनीतिक अन्तरविरोध
“किरात” नाममा बनेका संगठनहरूले सबै समुदायको समान प्रतिनिधित्व गर्न नसकेको गुनासो रहेको छ (Hangen, 2010)। यसले गर्दा समुदायहरू आफै छुट्टै संगठन निर्माण गरेर आफ्ना हक–अधिकारको पैरवी गरिरहेका छन्, र सामूहिक पहिचानमा अलमल महशुस गरिरहेका छन्।
निष्कर्ष
राई, लिम्बु, याख्खा र सुनुवार समुदायहरूले आफुलाई किरात भन्न नचाहनुका पछाडि गहिरा सामाजिक, सांस्कृतिक र ऐतिहासिक कारणहरू छन्।
मुख्यतः जातीय मौलिकता, धार्मिक भिन्नता, बाह्य पहिचानको अस्वीकृति र प्रतिनिधित्वको प्रश्नले गर्दा “किरात” भन्ने शब्दप्रति उनीहरूमा सावधानीपूर्वक दूरी बनाइएको छ।
References
Bhattarai, B. (2012). Kirat Itihas ra Samskriti. Kathmandu: Kirat Sahitya Prakashan.
Chemjong, I. S. (1967). History and Culture of the Kirat People. Darjeeling: Yakthung Chumlung Publication.
Gaenszle, M. (2002). Ancestral Voices: Oral Ritual Texts and Their Social Contexts among the Mewahang Rai of East Nepal. Münster: LIT Verlag.
Hangen, S. I. (2010). The Rise of Ethnic Politics in Nepal: Democracy in the Margins. Routledge.
Schlemmer, G. (2004). Kirat Culture and Identity: Dynamics of Continuity and Change. In Bulletin of the French School of Asian Studies, 91(1), 273–304.
Subba, T. B. (1999). Politics of Culture: A Study of Three Kirata Communities in the Eastern Himalayas. Orient Longman.
